Wednesday, May 24, 2017
Home > नेपाली समाचारहरु > समसामयिक > भारी हुँदैन दाह्री

भारी हुँदैन दाह्री

जगदीश भण्डारी (३०) साथीकोमा गएर मेसिनले दाह्री काट्थे । कामविशेषले साथी एक महिनाका लागि घरबाहिर गए । उनलाई ब्लेडले दाह्री काट्न अल्छी लाग्यो । एक महिनामा नकाट्दा दाह्री लामै भयो । फेसबुकमा दाह्रीसहितको फोटो पोस्ट गरे । साथीले त्यही दाह्री भएको फोटो थाहै नदिई ‘नो शेभ नोभेम्बर’ प्रतियोगिताका लागि पठाइदिए । जगदीशलाई प्रतियोगितामा जानैपर्ने भयो । सहभागी भए । भाग्य भनौं या प्रतिभा– उनी सेकेन्ड रनरअप भए । उनलाई त्यसपछि दाह्रीको माया लाग्न थाल्यो । काट्न मन लाग्न छाड्यो । दाह्री पाल्न थाले । अहिले उनले दाह्री नकाटेको एक वर्ष नाघिसक्यो । अहिले त उनलाई दाह्री भारी हुँदैन ।

छेउमै बसेका अभिषेक राजसिंह थापा बोलिरहँदा जगदीश मायाले ‘एड्भोडियन कट’ दाह्री मुसारिरहन्थे ।

फोटोग्राफीका सोखिन जगदीश इतिहासका विद्यार्थी हुन् । उनी एकदिन साथीलाई लिएर दरबार हाइस्कुलबारे बुझ्न संस्कृतिविद् सत्यमोहन जोशीको घर पुगे । जोशीसँग कुराकानी गरे । उनीहरू त्यहीँ हुँदा दुई जना पत्रकार सत्यमोहनको अन्तर्वार्ता लिन पुगे । दुवै जना पत्रकारले दाह्री पालेका रहेछन् । जगदीशका साथीले पनि दाह्री पालेका । सत्यमोहनलाई एउटै ग्रुप जस्तो लागेछ ।

उनले फ्याट् भने, “तपाईंहरू दाह्री ग्याङ हो कि क्या हो ?”

कसरी जन्मियो ‘दाह्री ग्याङ’ ?

जगदीश र उनका साथी मुकेशलगायत करिब २५–३० जना साथी फेसबुकको ग्रुप च्याटमा थिए । कुनै कार्यक्रममा जानु परे वा कतै घुम्न जानु छ भने उनीहरू त्यही ग्रुप च्याटबाट सूचना सेयर गर्थे ।

एकदिन मुकेशले जगदीशलाई भने, “हामी अरुको ग्रुप च्याटमा बसेर यति धेरै काम गरिरहेका छौं, अब आफ्नै ग्रुप च्याट खोलौं ।”
जगदीशलाई पनि कुरा ठीक लाग्यो । तर, नाम के राख्ने भनेर टुंगो लागेन ।

सत्यमोहन जोशीको ‘दाह्री ग्याङ’ भन्ने शब्द मुकेशलाई मन परेको रहेछ । जगदीशलाई पनि चित्त बुझ्यो । उनीहरूका अधिकांश साथीले दाह्री पनि पालेका थिए । त्यसैले उनीहरुले नाम राखे, ‘दाह्री ग्याङ’ ।

सात जनाबाट सुरु भएको फेसबुकके ‘दाह्री ग्याङ’मा अहिले ७६ हजार सदस्य छन् । काठमाडौंमा ८ जना र काठमाडौंबाहिर ७ जना एडमिन छन् ।

“एडमिन र मेम्बरमा खासै केही फरक छैन । पोस्ट गर्नेमात्रै हो, बाँकी उही हो,” ‘दाह्री ग्याङ’का एडमिन अभिषेकले स्पष्ट पारे ।

अहिले ‘दाह्री ग्याङ’का सदस्य अधिकांश जिल्लामा फैलिसकेका छन् । पोखरा, चितवन, झापा, इटहरी, धनगढी, बुटवल, बारा, काभ्रेमा विशेष सक्रिय छ ‘दाह्री ग्याङ’ । यो संस्था होइन तर सामाजिक काम भने गरिरहेको छ । दर्ता भएको छैन तर सामाजिक संस्थाहरुले भन्दा काम कम गरेको छैन ।

यसको सदस्यता लिन कसैले पैसा तिर्नु पर्दैन । यो ग्याङमा छिर्न कुनै कडा सीमा पनि छैन । ‘दाह्री ग्याङ’ले यसमा आफ्नो आचारसंहिता पनि जारी गरेको छैन ।

‘दाह्री ग्याङ’मा दाह्री नआउने जनजाति पुरुष पनि अटाउँछन् । महिलाहरू पनि दाह्रीप्रति ऐक्बद्धता जनाउँदै ‘द बियर्ड लभर’को रूपमा रहन पाउँछन् ।

एउटा नियम छ, १८ वर्ष नपुगेका व्यक्ति सहभागी हुन पाउँदैनन् । अर्को नियम– नयाँ र फेक आईडी पनि एडमिनले एक्सेप्ट गर्दैन । २० हजारभन्दा माथि रिक्वेस्ट पेन्डिङमा छन् ।

‘दाह्री ग्याङ’मा निकै ठूलो क्रेज कमाएका जगदीश भन्छन्, “मेरोचाहिँ एड्भोडियन कट भएकाले मिलाइरहन्छु, त्यसैले अभिशेकको भन्दा अलि छोटो होला ।”

निकै भद्र र सौम्य लाग्ने जगदीशले सुरुमा त घरमै असन्तुष्टिको स्वर सुने । उनले प्रतिवाद गरे, “दाह्री पाल्दैमा कोही फटाहा हुँदैन, दाह्रीले मान्छेलाई खराब बनाउँदैन ।”

परिवारलाई पनि ठिकै लाग्यो होला, चुप लाग्यो ।

अभिषेक अघि सरे, “त्यही खैरेले दाह्री पाल्दा वा क्या दामी भनेर वाहीवाही गर्ने हामी किन नेपालीले दाह्री पाले नकारात्मक सोच राख्छौं ? गुन्डा, फटाहा वा नराम्रो काममा संलग्न हुन सक्ने आशंका गर्छौं ? हामी यही सोच बदल्न चाहन्छौं ।”

० ० ०

वैशाख १२ गते भूकम्पमा ज्यान गुमाएकाहरूको सम्झनामा इटहरीमा मैनबत्ती बालेर साथीहरूसँग जगदीश र अभिषेक पैदल फर्किंदै थिए ।
अगाडिबाट दुइटा सिटी सफारीमा आएका व्यक्तिले ‘ओइ रोक रोक’ भने । जगदीश, अभिषेक र उनका साथी तीनै जना अर्काको साथी होला भनेर उभिए ।

फिल्मी शैलीमा आएका सवारी उनीहरू अगाडि आएर रोकिए । साउथ इन्डियन शैलीमा सफारीबाट ओर्लिएका व्यक्तिले ‘को हो तिमीहरू ? झोला खोल । किन दाह्री पालेको ? यो फ्यांग्लो के लाको ?’ भन्दै तँतँ र मम गर्न थाले ।

उनीहरूले आफ्नो परिचय दिए । भएको प्रमाण देखाए । तर, पनि उनीहरूले मानेनन् ।

जगदीशले आफू फोटोग्राफर भएको बताए । आफ्नोबारे पत्रपत्रिकामा समाचार तथा अन्तर्वार्ताहरु पनि आउने गरेको सुनाए ।
उनीहरुले सोधे, “कुनमा आ’को थियो ?”

जगदीशले भने, “कान्तिपुरमा ।”

“मैले देखिनँ त,” रुखो स्वरमा फेरि उनीहरूमध्येको एकले भन्यो ।

जगदीशलाई सहिनसक्नु रिस उठ्यो, भनिदिए, “मैले त देखेको छैन, तिमीहरूले कहाँ देख्छौ त ?”

जगदीश र अभिषेकसँगै रहेका इटहरीका ‘दाह्री ग्याङ’का सदस्यले आफ्नो घर इटहरीमै रहेको र उनीहरू आफ्नोमा आएको बताएपछि सिभिल ड्रेसका ती पुलिसले उनीहरूलाई छाडिदिए ।

“दाह्री पाल्नु नै पुलिसका नजरमा अपराधी भइँदोरहेछ । यही सोच हटाउन चहान्छौं हामी,” जगदीशले भने ।

‘दाह्री ग्याङ’ सामाजिक काम पनि गर्छ । अनाथ बालबालिकालाई सहयोग गर्नेदेखि चिसोमा लुगा बाँड्छ । गिरानचौरमा धुर्मुस–सुन्तली फाउन्डेसनलाई सहयोग गरेको ‘दाह्री ग्याङ’ले झापामा मेटिइसकेको जेब्रा क्रसिङ पेन्ट गर्यो ।

सानो लाग्ने तर महत्वपूर्ण कुरा गर्दोरहेछ ‘दाह्री ग्याङ’ । झापामा उनीहरुले जेब्रा क्रसिङ पेन्ट मात्रै गरेनन्, दुर्घटना बढाउने ठाउँमा भएका जेब्रा क्रसिङ हटाएर उपयुक्त ठाउँमा सारे ।

काठमाडौंमा पनि यसलाई अभियानकै रूपमा चलाउने सोच्यो ग्याङले । तर, यहाँ खुला हृदयले समाजसेवा गर्न पनि कहाँ पाइन्छ र ! अनावश्यक सर्त र सरकारी झमेला छन्, जुन कहिलेकाहीँ राम्रा कामका लागि पनि बाधक बनिदिन्छन् । यस्तै भइरहेको छ ‘दाह्री ग्याङ’लाई ।

उनीहरूले काठमाडौंमा मेटिसकेका जेब्राक्रसिङ पेन्ट गर्न खोजे । तर, प्रशासनले ‘दाह्री ग्याङ’ दर्ताको कागज खोज्यो । अनावश्यक ठाउँमा रहेका जेब्रा क्रसिङ हटाउन प्रस्ताव गरे । यसमा पनि प्रशासनले पहिचान खोज्यो ।

असार ४ गते क्यान्सर पीडितका लागि रकम हस्तान्तरण गरेको ‘दाह्री ग्याङ’ले हेटौंडामा न्यानो लुगा बाँड्यो । मन ठूलो भए धन आफैं जम्मा हुन्छ । बुटवलमा स्टेशनरी बाँडेको ग्याङले काठमाडौंमा फुटसलबाट पैसा संकलन गरेर आफूलाई समाजसेवामा समर्पित गरायो । सुरुमा साथीहरूबीच आफ्नो ग्रुप च्याट होस् भनेर खोलिएको ‘दाह्री ग्याङ’ अहिले समाजसेवा गर्ने ग्याङको रूपमा उभिएको छ ।

‘दाह्री ग्याङ’ले ‘अल नेपाल बियर्ड एन्ड मुस्टास कम्पिटिसन’ आयोजना गर्दैछ । स्थापनाको एक वर्षको अवसर पारेर फागुन ६ मा प्रतियोगिता गर्ने सोच छ । हँसमुख अभिषेकले भने, “मेरो यो लामो दाह्री शायद त्यो प्रतियोगितामा पनि देखिनेछ ।”

अहिले बाटोमा कसैले दाह्री पालेको देख्यो भने ‘दाह्री ग्याङ’को हो भनेर सोध्ने अवस्था बनेको देख्दा उनीहरूको खुसीको सीमा हुँदैन ।
दुई साताअघि अभिषेक काम लिएर जिल्ला शिक्षा कार्यालय भक्तपुर पुगेका थिए । १३ महिना लामो दाह्री देखेर त्यहाँका एक अधिकारीले सोधे, “तपाईं पनि ‘दाह्री ग्याङ’को हो ?”

मुसुक्क हाँसेर उनले भने, “हो ।”

“मेरो छोरोले पनि दाह्री पाल्छु भनेर हैरान बनाइसक्यो । जे सुकै गर भनेको छु,” उनले अभिषेकलाई सुनाए ।

अभिषेकले भने, “दाह्री पाल्ने अपराधी हुँदैन, चिल्लो गाला हुँदैमा कोही भलाद्मी भइहाल्दैन, हामीले यही प्रमाणित गरिरहेका छौं ।”

 

स्रोत: १२ खरी

 

 

Leave a Reply