Friday, January 20, 2017
Home > नेपाली समाचारहरु > समाचार > कसरी हट्यो लोडसेडिङ ? हेर्नुहोस् ४ कारण

कसरी हट्यो लोडसेडिङ ? हेर्नुहोस् ४ कारण

प्राधिकरणलाई लोडसेडिङ घटाउन सहयोग गर्ने एउटा महत्त्वपूर्ण कारण आपूर्ति वृद्धि हो । गत वर्ष फागुनयता भारतबाट आयात गरिएको र नेपालभित्रैको गरी करिब १ सय ९५ मेगावाट विद्युत् थपिएको छ ।

पुस ९, २०७३- प्राधिकरणलाई लोडसेडिङ घटाउन सहयोग गर्ने एउटा महत्त्वपूर्ण कारण आपूर्ति वृद्धि हो । गत वर्ष फागुनयता भारतबाट आयात गरिएको र नेपालभित्रैको गरी करिब १ सय ९५ मेगावाट विद्युत् थपिएको छ ।

नेपाल विद्युत् प्राधिकरणको प्रणालीमा बिहीबार कुल ७ सय ५ मेगावाट विद्युत् उपलब्ध हुँदा साँझको माग भने करिब १३ सय मेगावाट थियो । सरसर्ती तथ्याङ्क हेर्दा उपलब्ध बिजुली र मागबीच करिब-करिब दोब्बर नै फरक देखिन्छ । तर पनि राजधानीका उपभोक्ताले विगत केही समययता जस्तै बिहीबार पनि लोडसेडिङ बेहोरेनन् । उद्योगी व्यवसायी पनि खुसी छन् ।

उद्योग वाणिज्य महासंघका अध्यक्ष पशुपति मुरारकाका अनुसार पहिलेभन्दा धेरै सुधार भएको छ । ‘नेपालगन्जलाई छाडिदिने हो भने अन्य ठाउँमा निक्कै सुधार भएको छ,’ उनी भन्छन् । उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्माका अनुसार उनीहरूको उत्साह र विश्वास बढेको छ ।

तिहारदेखि राजधानीमा बिजुली घन्टा तोकेरै गएको छैन । अर्थात तोकिएरै लोडसेडिङ हुनछाडेको छ । यस वर्षको लक्ष्मी पूजाका दिनमा पनि बत्ती नगएपछि विद्युत् प्राधिकरणले ‘अब लोडसेडिङ हुँदैन’ भनेर घोषणा गरेको हो । यसमा कार्यकारी निर्देशक कुलमान घिसिङलाई श्रेय जाने गरेको छ । ऊर्जामन्त्री जनार्जन शर्मा पनि जसका भागिदार छन् । ‘हामीले ‘पिक आवर’ (अधिक विद्युत् खपत हुने समय) मा घरेलु उपभोक्ताका लागि लोडसेडिङ नगर्नेगरी व्यवस्थापन गरेका छौं,’ घिसिङले भने, ‘यसबेला उद्योगमा भने लोडसेडिङ हुन्छ ।’

पहिले उद्योग र घरेलु उपभोक्ताले एकैपटक लोडसेडिङ बेहोर्थे । ‘पिक आवर’मा उद्योगसमेत चल्दा घरेलु उपभोक्ताले बेहोर्ने लोडसेडिङ बढी हुन्थ्यो । तर ‘पिक आवर’मा मात्र उद्योगमा लोडसेडिङ गर्ने र अरू बेला चल्न दिने गर्दा दुवैलाई फाइदा पुगेको छ । ‘उद्योगलाई पटक–पटक गरेर बिजुली काटिदिनुभन्दा एउटै समयमा काटिँदा व्यवस्थापन गर्न सजिलो हुन्छ,’ उनले भने, ‘त्यसबेला घरेलु उपभोक्तालाई पुग्नेगरी बिजुली दिन सकिन्छ ।’

लोडसेडिङ हट्नुका कारण 
राजधानी लगायतका क्षेत्रमा लोडसेडिङ हटेपछि ऊर्जामन्त्री जनार्दन शर्माले नै लुकेको विद्युत् वितरण गरिएको भनेर सार्वजनिक रूपमै भने । मन्त्रीले नै लुकेको बिजुली बाहिर ल्याएको भनेपछि यसले धेरै चर्चा पायो । दसैंसम्म लोडसेडिङ झेलेका जनतालाई लोडसेडिङमुक्त गर्न कसरी सम्भव भयो त ? ‘हामीले दसैंको बेलामा ऊर्जा खपतको यथार्थ थाहा पाउने अवसर पायौं,’ ऊर्जामन्त्री शर्मा भन्छन्, ‘त्यसबेला उद्योग बन्द थिए, घरायसी खपत र औद्योगिकको बारे बुझ्ने मौका मिल्यो । त्यसका आधारमा रणनीति बनाएर अघि बढ्यौं ।’

लोडसेडिङ हटाउनका लागि मन्त्री शर्माले दिएको कडा निर्देशन अनुसार प्राधिकरणका नयाँ प्रमुख घिसिङले पनि काम अघि बढाए । माग र आपूर्तिको लेखाजोखा गर्दा मुलुकभरका सबै ग्राहकलाई एउटै कोटीमा राखेर एकमुष्ट गरिएको लोडसेडिङमा कतै कैफियत छ भन्ने घिसिङलाई लाग्यो । ‘एकमुष्ट लोडसेडिङ गरेर ऊर्जाको असमान वितरण भएको हामीले पायौं । त्यसलाई व्यवस्थापन गर्ने कुरा नै हामीले प्राथमिकतामा राख्यौं, जसले घरायसी र औद्योगिक दुवै ग्राहकलाई सन्तुष्टि दिएको छ ।

लोडसेडिङ हटाउने अभियानका क्रममा प्राधिकरणले एउटा स्पष्ट नीति लियो । राति र दिउँसो घरायसी विद्युत् माग कम हुने बेला उद्योगको बिजुली नकाटी २० घन्टासम्म लगातार बिजुली दिने, तर उच्च माग हुने साँझ साढे ४ देखि साढे ८ बजेसम्म भने कुनै पनि उद्योगलाई बिजुली नदिने । त्यसका लागि पहिलो २४ घन्टा नै विद्युत् दिनेगरी ‘डेडिकेटेड फिडर’ जडान भएका उद्योगको समेत लाइन काटियो । घिसिङको दाबीअनुसार पहिले १५ मेगावाटसम्म खपत गर्ने उद्योगलाई २४ घन्टा नै विद्युत् आपूर्ति गर्ने गरिएको थियो । त्यस्ता उद्योगलाई समेत ‘पिक आवर’मा बिजुली आपूर्ति नगरेपछि घरायसी माग धान्न सजिलो भयो ।

यसका अतिरिक्त राजधानीको मागलाई पुरा गर्न दसैं र तिहारका बेलामा कुलेखानीसमेत केही समय चलाएको घिसिङ बताउँछन् । तर त्यसपछि भने कुलेखानी खासै चलाउनु नपरेको उनले जानकारी दिए । ‘कहिलेकाहीं १०–१५ मिनेट चलाउनुपर्ने हुन्छ, नत्र हामीले खासै चलाएका छैनौं,’ उनले भने, ‘अब सुख्खायाममा भने हामी पिक आवरमा कुलेखानी चलाउँछाौं ।’

  • भूकम्पका कारण क्षतिग्रस्त भएका केही निजी क्षेत्रका विद्युत् गृहहरू सञ्चालनमा
  • १ सय ९५  मेगावाट थपियो
  • माग नबढ्नु, तर आपूर्ति बढ्नु
  • कुलमान घिसिङको उचित व्यवस्थापन

घिसिङका अनुसार शुक्रबार कुलेखानीमा १ हजार ५ सय २३ दसमलव ३ मिटर पानी रहेको छ । ‘पिक डिमान्ड’को आपूर्ति गर्न हाल मध्यमर्स्याङ्दीको पानी माग कम हुने राति र दिउँसो जम्मा गरेर राख्ने गरिएको पनि उनले बताए । यो ‘पिकिङ रन अफ रिभर’ प्रणालीका आयोजना हो । जसमा जलाशययुक्त आयोजनाजस्तै केही समय पानी जम्मा गरेर राखी थप विद्युत् उत्पादन गर्न सकिने घिसिङ बताउँछन् ।

‘पहिले बिजुली लुकाइन्थ्यो, अब हामीले लुकाएनौं’ भनेर मन्त्री र कार्यकारी प्रमुखको जुन भनाइ आइरहेको छ, यसबारे पनि चर्चा भइरहेको छ । तर राजधानीले सधैं बिजुली पाउनु, अन्यत्र कम हुनु र उद्योगी पनि खुसी हुनेगरी बिजुली पाउनुका पछाडि केही वर्षदेखिको प्रयास र बढेको आपूर्ति पनि महत्त्वपूर्ण छ । शुक्रबार प्राधिकरणको प्रणालीमा आफैंले उत्पादन गरेको २ सय २५, निजी क्षेत्रका स्वदेशी उत्पादकसँग खरिद गरिएको २ सय र भारतबाट आयात गरिएको २ सय ८० मेगावाट विद्युत् रहेको थियो ।

प्राधिकरण र निजी क्षेत्रले धेरैजस्तो आयोजना ‘रन अफ दि रिभर’ बनाएकाले हरेक हिउँदमा जडान भएको भन्दा कम क्षमतामा मात्र विद्युत् उत्पादन हुने गर्छ । वर्षायामको तुलनामा धेरैजसो यस्ता आयोजनाबाट विद्युत्को उत्पादनमा झन्डै ३० देखि प्रतिशत प्रतिशतमा झर्ने गरेका छन । तर यसपटक हालसम्म यसरी तल झरिसकेको छैन ।

कार्यकारी निर्देशक घिसिङले अहिले ‘पिक आवर’को मागमा पनि कमी आएको बताए । ‘लोडसेडिङ हुँदैन भन्ने कुराले जनतामा आत्मविश्वास बढेको छ, विद्युत् खपतको पुरानो शैली नै परिवर्तन भएको छ,’ उनले भने । इन्भर्टर र ब्याट्री चार्ज कम हुँदा माग घटेको घिसिङको तर्क छ । लोडसेडिङ हुँदा उपभोक्ताको मनोविज्ञान नै ‘लाइन आएका बेला चार्ज गरिहाल्नुपर्छ’ भन्ने थियो । त्यसले गर्दा घरदेखि कार्यालयसम्म जोडिएका ‘ब्याकअप’मा चार्ज गरिन्थ्यो । त्यसैगरी पानी तान्ने लगायतका कामसमेत यसै समयमा हुनेगर्दा ‘पिक आवर डिमान्ड’ धेरै हुने गथ्र्यो । अहिले भने त्यसमा निक्कै कमी आएको प्राधिकरणका अधिकारीहरूको दाबी छ । प्राधिकरणकै तथ्यांक अनुसार माग पनि गत वर्षकै बराबर यस वर्ष पनि छ ।

गतवर्ष नाकाबन्दीका समयमा बिजुली बढी खपत भएकाले माग अत्यधिक थियो । गतवर्ष पनि अहिलेभैंm १३ सय मेगावाट नै बिजुलीको माग थियो । माग नबढ्नु, तर आपूर्ति बढेकाले लोडसेडिङ कम गर्न मुख्य भूमिका खेल्यो ।

१ सय ९५ मेगावाट थपियो
प्राधिकरणलाई लोडसेडिङ घटाउन सहयोग गर्ने एउटा महत्त्वपूर्ण कारण आपूर्ति वृद्धिसमेत हो । गतवर्ष फागुनयता भारतबाट आयात गरिएको र नेपालभित्रैको गरी करिब १ सय ९५ मेगावाट विद्युत् थपिएको छ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था इप्पानका अध्यक्ष खड्ग बहादुर विष्टका अनुसार यस वर्ष देशभित्रै १ सय १५ मेगावाट बिजुली थपिएको छ । यस बाहेक भारतबाट ८० मेगावाट बिजुली आयात भएको छ । आयातित ८० र माईखोलाको दुवै गरी ३० मेगावाट राजधानी ल्याइएको छैन ।

राजधानी ल्याउन मिल्ने माथिल्लो मर्स्याङ्दीको ५० मेगावाट थपिएको छ । गत बर्ष भुइचालोले वन्द भएका मध्ये करिब २० मेगावाट क्षमताका आयोजना यसपटक सुचारु भएका छन । ‘बिजुली थपिएको छ, तर माग बढेको छैन,’ प्राधिकरणकै एक अधिकारी भन्छन्, ‘विगतदेखि थालिएका कामको परिणाम हो, तर अन्य सबैलाई गाली गरेर हामीले मात्रै ठिक गर्‍यौं भन्नु बेइमानी हो ।’

घिसिङका अनुसार माथिल्लो मर्स्याङ्दीबाट अहिले पनि ३५ मेगावाट बिजुली यहाँ आइरहेको छ । माथिल्लो मादीले मर्स्याङ्दी करिडरबाट थप बिजुली राजधानी ल्याउन सकिने बाटो खोलिदिएको छ । यसले पनि लोडसेडिङ कम गर्न मद्दत पुगेको हो । तर ऊर्जामन्त्री शर्मा र प्राधिकरण प्रमुख घिसिङ आपूर्ति वृद्धिलाई त्यत्ति महत्त्व दिन चाहँदैनन् । ‘म मन्त्री भएयता माथिल्लो मर्स्याङ्दीको मात्रै थपिएको हो,’ बिहीबार ऊर्जामन्त्री शर्माले भने ।

अबको तयारी
प्राधिकरणले थप २ सय २० मेगावाट विद्युत् भारतबाट आयात गर्ने योजना केही अघि सार्वजनिक गरेको थियो । त्यसका लागि प्रक्रिया अघि बढिसकेको छ ।

प्राधिकरणले ढल्केवर–मुजफ्फरपुरबाट ८०, कटैया–कुसाहाबाट ५०, रक्सौल–परवानीपुरबाट ५०, टनकपुर–महेन्द्रनगरबाट ४० गरी कुल २ सय २० मेगावाट विद्युत् आयातको तयारी गरेको हो । यसै सातासम्म यो बिजुली ल्याउने दाबी गरिए पनि अब भने कम्तीमा २ महिना पर्खिनुपर्ने भएको छ ।

‘उत्पादन घट्दै जाने र भनेजति बिजुली नआउने भएपछि केही आपत्कालीन काम थालेका छौं,’ घिसिङ भन्छन् । पुरानै प्रणालीबाट सकेसम्म बढी बिजुली ल्याउनेगरी प्राविधिक व्यवस्थापन गर्न थालिएको प्राधिकरणले जनाएको छ । त्यसै अनुरूप भारतलाई पनि आग्रह गरिएकाले उसले पनि छुट्टै लाइन विकासको साटो पुरानै प्रणालीलाई सुधार गरिरहेको घिसिङले बताए ।

हाल ढल्केवर–मुजफ्फरपुरबाट ८० मेगावाट विद्युत् आयात भइरहेको छ । सोही प्रसारण लाइन प्रयोग गरी थप ८० मेगावाट विद्युत् ल्याउने तयारी लगभग पुरा भइसकेको छ । २ सय २० केभीको सबस्टेसनमा ढिलाइ भएपछि प्राधिकरणले अहिले बिजुली आयात भइरहेको १ सय ३२ केभीको प्रसारण लाइनबाटै थप ८० मेगावाट ल्याउन लागिएको हो । त्यसका लागि थप ट्रान्सफर्मर जडान भएको छ । त्यहाँ १०० एमभीएको ट्रान्सफर्मर जडान गरेपछि ८० मेगावाट थप बिजुली ल्याउन सम्भव हुनेछ । खिम्ती-ढल्केवर प्रसारण लाइन परीक्षणका क्रममा रहेको उनले बताए । ‘थप आयातितमध्ये ६० मेगावाटसम्म राजधानी ल्याउन सकिने देखिन्छ,’ घिसिङ भन्छन् ।

यसैगरी १ सय ३२ केभीको कटैया–कुसाहा प्रसारण लाइन अहिले बनिरहेको छ । भारतीय ठेकेदारबाट निर्माण भइरहेको यो प्रसारण लाइनबाट पनि आगामी दुई महिनाभित्र बिजुली ल्याउने प्राधिकरणको लक्ष्य छ । यसै महिना सम्पन्न गर्ने लक्ष्य राखिएको रक्सौल–परवानीपुर १ सय ३२ केभीबाट पनि थप ५० मेगावाट विद्युत् आयात हुँदैछ । यो प्रसारण लाइन अन्तर्गत भारतको नयाँ मोतिहारीमा १३२ केभीको सबस्टेसन निर्माण भइरहेको छ । यो सम्पन्न भएपछि पुरानो मोतिहारी र नयाँ मोतिहारी जोडिनेछ । त्यसबाट नेपालमा बिजुली ल्याउन सजिलो पर्नेछ ।

यसैगरी टनकपुर–महेन्द्रनगर प्रसारण लाइनबाट भने दुईवटा भिन्न सम्झौता अनुसार भारतबाट बिजुली आउने गरेको छ । यो प्रसारण लाइनबाट ४५ मेगावाट सम्म विद्युत् ल्याउन लागिएको हो । यहाँबाट आएको बिजुली भने सुदूर पश्चिम क्षेत्रमा मात्र प्रयोग हुनेछ ।

यो प्रसारण लाइनबाट महाकाली सन्धि अन्तर्गत नेपालले सित्तैमा पाउने ७ करोड युनिट (१२ देखि १६ मेगावाट) र विद्युत् व्यपार सम्झौता अन्तर्गत सुख्खायाम (नोभेम्बरदेखि जूनसम्म) भारतले दिने २२ देखि ३० मेगावाटसम्म बिजुली नेपाल ल्याइनेछ । त्यसका लागि हाल १ सय ३२ केभीको प्रसारण लाइन मर्मतको काम भइरहेको छ । हाल त्यहाँ जडान भएको ५० एमभीएको ट्रान्सफर्मरलाई क्षमता अभिवृद्धि गरी १ सय एमभीए बनाउन लागिएको हो ।

काठमाडौं प्रणाली (उपत्यका सहित अन्य सात जिल्ला) मा हाल ‘पिक आवर’ माग ३ सय २० मेगावाट रहेको छ । माघ र फागुनमा यो माग अझै बढ्नेछ । जाडो महिनामा विद्युत् माग बढ्ने गरेकाले त्यसबेला काठमाडौं प्रणालीको माग बढेर ३ सय ४० मेगावाट पुग्ने अनुमान गरिएको छ ।

लोडसेडिङ नहुने भएपछि हरेक दिन प्राधिकरणले ‘पिक आवर’मा समेत ३ सय २० मेगावाट नै विद्युत् आपूर्ति गर्नु परिरहेको छ । अहिलेकै विद्युत् आपूर्तिले माघ लागेपछि भने काठमाडौंसहित मुलुकभर लोडसेडिङ नहुनेगरी व्यवस्थापन गर्न गाह्रो हुनेछ । तर त्यसका लागि प्राधिकरणले वैकल्पिक व्यवस्थापनका लागि काम अघि बढाइसकेको घिसिङ बताउँछन् । ‘हामीले भारतबाट आयातितमध्ये केही विद्युत् काठमाडौं प्रणालीमा जोड्न लागेका छौं,’ उनले भने, ‘यो जोडिएपछि भने लोडसेडिङ हुने छैन ।’

यही डिसेम्बर अन्त्यसम्ममा राजधानी ल्याइसक्ने लक्ष्य राखिएको भए पनि त्यसमा केही ढिलाइ हुने देखिएको छ । ‘तर हामी माघदेखि हुने अधिक मागलाई पुरा गर्नेगरी विद्युत् ल्याउनेछौं,’ उनले भने ।

भारतबाट आयातित बिजुली राजधानीसम्म ल्याउनका लागि अहिले प्राधिकरणले ढल्केवर–खिम्ती लामोसाँघु प्रसारण लाइनलाई बिजुली ल्याउन प्राविधिक रूपमा तयार गर्ने काम अघि बढिसकेको छ । यसले गर्दा चाँडै नै भारतबाट आयात भएको विद्युत् राजधानी ल्याउन सकिनेछ । यसका साथै हिउँमा कुलेखानी जलाशययुक्त आयोजनाबाट थप ९२ मेगावाट विद्युत्समेत उपलब्ध हुँदा लोडसेडिङ गर्नुपर्ने अवस्था नआउने प्राधिकरणका अधिकारीहरूको तर्क छ । अब यो आयोजना नियमित चलाउनुपर्ने हुन्छ ।

‘पिक आवर’मा नियमित चलाउँदा पनि यो पानीले ५ महिनालाई पुग्ने घिसिङको तर्क छ । ‘सुख्खा याममा भारतको बिजुली काठमाडौं आइसक्ने र कुलेखानी चलाउँदा पिक आवरमा समेत लोडसेडिङ हुने छैन,’ उनले भने, ‘त्यसैका लागि हामी सबै खाले प्रयास गरिरहेका छौं ।’

‘पुरानै व्यवस्थापन र सरकारबाट सुरु भएको हो’

निवर्तमान कार्यकारी निर्देशक, नेपाल विद्युत् प्राधिकरण

लोडसेडिङ व्यवस्थापन मूलत: तीन कुरामा निर्भर गर्छ : माग, आपूर्ति र पूर्वाधार (मल्टिफ्युल प्लान्ट ३९ मेगावाट र हेटौंडा डिजेल प्लान्ट १५ मेगावाटसहित)। नेपालको राष्ट्रिय प्रणालीमा करिब ८ सय मेगावाट विद्युत् जोडिएको छ । यसको अलावा भारतबाट २ सय ७० मेगावाट आयात भइरहेको छ । अधिकतम माग १ हजार २ सय ८५ मेगावाट छ । मागमध्ये उद्योगहरूको मात्र २ सय ७० मेगावाट छ । काठमाडौंको हाल साँझको उच्च माग ३ सय १५ मेगावाट छ । नदीमा पानीको जलस्तर घट्ने क्रम सुरु भइसकेको छ ।

पुस २ गतेको तथ्याङ्क अनुसार विद्युत् प्राधिकरण अन्तर्गतका जलविद्युत् गृहबाट ३ सय ७४, निजी क्षेत्रबाट १ सय ९६ र भारतबाट आयात गरिएको २ सय ५९ मेगावाट छ । उच्च माग १ हजार २ सय ८५ मेगावाट रहेकोमा ४ सय ५५ मेगावाट नपुग भई उद्योगहरू र काठमाडौं उपत्यकासहित विशेषगरी तराई क्षेत्रमा लोडसेडिङ भएको छ । काठमाडौं उपत्यकाको उच्च माग व्यवस्थापन गर्न कुलेखानी २ घन्टा र हेटौंडाको डिजेल प्लान्टसमेत चलाइएको छ । आम जनताको चासो दु:ख गर्नुभन्दा पनि फल खानु भएकाले प्राविधिक पक्षसँग बढी सरोकार देखिँदैन ।

गत वर्षको मंसिर अन्तिम साताको तथ्याङ्क हेर्दा यस वर्षको भन्दा १ सय ९६ मेगावाट राष्ट्रिय प्रणालीमा कमी देखिन्छ । करिब १ हजार २ सय ८५ मेगावाट उच्च माग भएको हाम्रो प्रणालीमा यो परिमाणमा विद्युत् बढ्नु व्यवस्थापनका लागि धेरै सहज हुनु हो । यस अर्थमा अहिलेको नेतृत्व जश पाउने भाग्यमानी बन्न सफल भएको छ । गतवर्ष यो समय देश नाकाबन्दीको चपेटामा थियो ।
ग्यास, डिजेल, मट्टितेल, पेट्रोलको हाहाकारले सबैको निर्भरता बिजुलीमा थियो । ढल्केवर–मुजफ्फरपुर ४०० केभी प्रसारण लाइन निर्माण सम्पन्न भइसकेको थिएन । भूकम्पका कारण क्षतिग्रस्त भएका केही निजी क्षेत्रका विद्युत् गृहहरू समेत मर्मत-सम्भारकै क्रममा थिए । त्यसबेला काठमाडौं उपत्यकाको उच्च माग ४ सय ५० मेगावाटसम्म पुगेको तथ्याङ्कबाट देखिन्छ । अधिकतम ७ सय ५५ मेगावाटसम्म बिजुली पिक आवरमा अपुग भएको रेकर्ड छ ।

गत वर्षको तुलनामा यस वर्ष अहिलेसम्मको परिस्थिति सहज हो । यो अवस्थामा अहिले भनिए जस्तै उपत्यका बाहिर न्युन लोडसेडिङ गरी उपत्यकालाई सुख्खायाममा पुरै लोडसेडिङमुक्त गर्न सम्भव छ ? आन्तरिक उत्पादनतर्फ माथिल्लो मस्र्याङ्दी–ए-को थप २५ मेगावाट र माथिल्लो मादी २५ मेगावाट पुसको मध्यसम्ममा राष्ट्रिय प्रणालीमा जोडिने निश्चित छ । यस बाहेक आन्तरिक उत्पादनबाट यो सुख्खायाममा अरू विद्युत् थपिने देखिँदैन । माघ–फागुन महिनामा ‘रन अफ दि रिभर’ आयोजनाको उत्पादन ३० प्रतिशतसम्म कम हुने भएकाले भारतबाट थप आयात मात्र अहिलेको परिस्थितिलाई निरन्तरता दिने एकमात्र विकल्प हुनसक्छ ।

‘जवाफ व्यवहारबाटै दिन्छु’

ऊर्जामन्त्री

तपाईंले राजधानीको लोडसेडिङ हटाउनुभयो, त्यसपछि लुकाएको बिजुली ल्याएर हटाइएको पनि भन्नुभयो, बिजुलीचाहिँ कहाँ लुकाइएको रहेछ ? 
लोडसेडिङ हटेपछि कहाँबाट बिजुली आयो भन्ने प्रश्न आयो । जनताले प्रश्न गर्न थाले । यो बिजुली नक्कली हो कि सक्कली हो भन्ने हुनथाल्यो । वास्तवमै हामीले चमत्कार त गरेका होइनांै । लुकेको-छिपेको विद्युत् खोजेको भन्यौं । म मन्त्री बनेपछि थपिएको विद्युत् भनेको माथिल्लो मस्र्याङ्दीको २५ मेगावाट हो । त्यसबाट अहिले १४ मेगावाट पाइरहेका छौं । भारतबाट विद्युत् आयात पनि बढेको छैन । नदीमा पानीको सतह बढेको भन्ने तर्कसमेत आएको छ । तर हामीले साउनमा समेत लोडसेडिङ बेहोरेका थियौं । साउन महिना सबैभन्दा धेरै पानी पर्ने महिना हो । त्यसैबेला लोडसेडिङ थियो । अहिले विद्युत् व्यवस्थापन गरेर लोडसेडिङ हटाएका छौं । उद्योगले पहिले १६ घन्टा पाइरहेकोमा अहिले २० घन्टा पाइरहेका छन् । जनताले पनि लोडसेडिङ भोगेका छैनन् ।

तपाईंहरू व्यवस्थापन भन्नुहुन्छ, व्यवस्थापनले मात्रै हिजो नपुगेको बिजुली आज पर्याप्त भयो त ? 
मन्त्री भएलगत्तै मैले उद्योग व्यवसायीसँग छलफल गरेको थिएँ । त्यसबेला मैले तपाईंहरूको माग कति हो ? भन्नुस् भनेँ । माग अनुरूप विद्युत् उपलब्ध गराउँछु पनि भनेको थिएँ । तर कसैले पनि आफ्नो डिमान्ड दिनुभएन । पछि कुरा बुझ्दा उहाँहरूलाई विश्वास भएन जस्तो लाग्यो । कतिपयले पाइराखेको अवस्था थियो होला, पाइराखेकाले माग्ने कुरा पनि भएन । तर त्यसलाई कतिबेला अध्ययन गर्ने भन्ने थियो । हामीले उपयुक्त मौका हेरिराखेका थियौं । दसैंमा त्यसको परीक्षण गर्न पायौं । उद्योगहरू बन्द भए । लौ यसबेला हाम्रो विद्युत्को लेखाजोखा गरौं भनेर मैले कुलमानजी (कुलमान घिसिङ) लाई भनेँ– ‘ल अब उज्यालो दसैं बनाउनुस् ।’ जहाँबाट हुन्छ, जसरी हुन्छ, दसैं-तिहार र छठ उज्यालो बनाउन लागाौं । अहिले लोडसेडिङ अन्त्य भयो नभनौं भन्ने भयो ।
सबैभन्दा महत्त्वपूर्ण कुरा त विद्युत् प्राधिकरणको कतिपय ट्रान्सफर्मर लगायतको प्रणालीहरू पुरानो भएको, मर्मत नभएको जस्ता कारणले विद्युत् चुहावट भएको थियो । त्यसलाई कम गर्न मर्मत गर्ने र कतिपय स्थानमा नयाँ फेर्ने काम रातारात गरियो । त्यसले एउटा स्तरमा चुहावटलाई घटायो । दोस्रो कुरा लोडसेडिङको तालिका जनतालाई बाँड्ने परिपाटी थियो । तर अहिले त फेरि विद्युत् पुगेको छ । किन त्यसबेला तालिका बाँड्नुपर्‍यो ? यो कुराको जवाफको खोजी त म पनि गर्दैछु । यो प्रश्नको खोजी गर्नलाई मैले के भने भने कतिपय उद्योगलाई बढी दिइएको होला वा आवश्यकताभन्दा बढी उपलब्ध गराइएको होला, त्यो त आइहाल्छ । तर के त्यत्तिमात्र पाटो हो त ? त्यत्ति मात्र होइन, केही उद्योगलाई दिँदैमा लोडसेडिङ बढेको हैन । तर पनि ७–८ घन्टा त लोडसेडिङ थियो । त्यो के कारणले भएको हो भनेर म पनि जवाफ खोज्दैछु । नियतवश भएको हो कि ? व्यक्तिगत क्षमता र दक्षताको अभावमा भएको हो कि ? लापरबाहीका कारण भएको हो कि ? भन्ने पूर्णरूपमा यकिन नभई भन्न त मिल्दैन ।

पोहोरको यसबेला र अहिलेको हेर्दा झन्डै १ सय ५० मेगावाट विद्युत् थपिएको छ । यस्तो अवस्थामा तपाईं कसरी सबै व्यवस्थापन चुस्त भएर र चुहावट घटेर लोडसेडिङ नभएको भन्न सक्नुहुन्छ ?
पोहोर फागुनमा प्रधनमन्त्रीको भारत भ्रमणका बेला स्वीच अन गरेपछि ८० मेगावाट थपिएको हो । त्यसपछि अरू थपियो होला, तर पनि लोडसेडिङ कायम थियो । किन लोडसेडिङ भयो, त्यसबेला ? म आएपछि थपिएको विद्युत् भनेको त त्यही माथिल्लो मस्र्याङ्दीको २५ मेगावाट हो । त्यसमा अहिले १४ मेगावाट मात्र आइरहेको छ । मैले पोहोर फागुनपछि थपिएको छैन भनेको हैन । तर मैले म आएपछि मात्रको कुरा न गर्ने हो । तपाईंलाई म सजिलोगरी भन्छु, साउनमा समेत लोडसेडिङ थियो, अहिले छैन । दोस्रो कुरा गतवर्ष यसैबेला कति समय लोडसेडिङ थियो, तपाईंसँगै चार्ट होला, अहिले छैन । र त्यसबेला उद्योगले १६ घन्टामात्र पाएको थियो, अहिले भने २० घन्टा पाइरहेको छ । के त्यो सबै त्यही २५ मेगावाटले पुरा गर्‍यो त ?

अलिअलि थपिएको र अलिअलि व्यवस्थापन गर्नुभएको हो कि ? सबै व्यवस्थापन नै गरेर लोडसेडिङ हटेको हो ? 
मैले सबै व्यवस्थापन गरेको भनेकै छैन । मैले त जे हो, सत्य त्यही हो भनिरहेकै छु । यो चमत्कार पनि हैन, मैले केही गरेको हो पनि भन्या छैन । मैले भनेको त यहाँ आएर सुधार गरियो, त्यसले केही मद्दत पुर्‍यायो । त्यसपछि अरू व्यवस्थापन गर्दा कतै लुकेको विद्युत् पनि फेला पर्‍यो र त्यसले पनि सहयोग गर्‍यो भनेको छु । थपिने कुरा त गत वर्षको र त्यसभन्दा अघिको थपिएकै थियो । म आएपछि कति थपियो भन्ने कुरा आएकाले अहिले थपिएको भनेको २५ मेगावाट हो । त्यो थपिएको कुरा अस्वीकार गरेर, भारतबाट आइरहेको कुरालाई अस्वीकार गरेर सबै भएको छ त मैले भनेको छैन । अब बुझ्नेले त्यही बुझिदिए त मेरो केही लाग्दैन ।

अबका दिनमा माग बढ्दै जान्छ । त्यसलाई कसरी पुरा गर्नुहुन्छ ? 
प्रश्नको उत्तर म व्यवहारबाटै दिँदै जान्छु ।

योजना त होला नि ? 
योजना छ, अब त्यो त सफल हुँदै जाँदा भन्दै जाने कुरा हो ।

यसको मतलब तपाईं अहिले योजना सार्वजनिक गर्न चाहनुहुन्न ? 
सार्वजनिक त गर्ने हो । आपूर्ति गर्नुपर्छ, विद्युत् । वैकल्पिक व्यवस्था गर्नुपर्छ । वैकल्पिक व्यवस्था नगरी समस्या समाधान हुँदैन । सोलार जोड्ने हो कि ? उद्योगीसँग किन्ने हो कि ? उखुबाट निकाल्ने हो कि ? आन्तरिक स्रोत तिनै हुन् । अर्को भनेको ढल्केवरलाई केही गरी प्राविधिक व्यवस्थापन गरेर भारतबाट थप्ने हो कि ? यही हो योजना ।

विद्युत् प्राधिकरणमा अनियमितताको कुरा गर्नुभयो । तपार्इंले के देख्नुभएको छ, त्यहाँ त्यस्तो अनियमितता चाहिँ ? 
म अहिले यही भनेर ठोस एजेन्डा भन्दिन । त्यहाँ केही न केही गडबडी अनियमितता थियो भन्ने कुरा म लेखा समितिको सभापति भएर पनि हेरेको छु । त्यसबाट मलाई थोरै केही अनुभूति पनि थियो । त्यसले मलाई मद्दत पुर्‍याएको हो । कतिपय विषय मैले त्यसबेला पनि हेरेको थिएँ । यहाँ आएर हेर्दा कतिपय विषयमा हो कि भन्ने भएको छ । प्रतिवेदन बन्दैछ, त्यो पुरा भएपछि तपाईंहरूलाई भनौंला ।

तपार्इंले प्राधिकरणको कार्यकारी बन्न १० करोड अफर आयो भन्नुभएको कुरा पनि छ नि ? 
त्यो मैले अन्तरक्रियाको क्रममा भनेको सानो कुरालाई तपाईंहरू ठूलो बनाउनुहुन्छ । त्यो मैले ‘ट्रेन्ड’को कुरा गरेको हो । आफू पदमा पुग्न यहाँ दसौं करोड खर्च गर्नेहरू छन् । त्यो कुरा तपार्इंलाई थाहा छ । त्यसैलाई मैले त्यहाँ भनेको हुँ । तर तपाईंहरूलाई यस्तो कुरा नै ठूलठूलो समाचार हुन्छ ।

 

श्रोत: कान्तिपुर

Leave a Reply